दुःखको बोध गर्ने

दुःखको बोध गर्ने

सारांश

आज धेरै मानिसहरू दुर्व्यवहार र हिंसाद्वारा पीडित छन्। येशूले पनि दुःखको जीवन बिताउनुभयो। उहाँले अरूलाई मद्दत गर्नुभयो, तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई अझ राम्रो तरिका सिकाउनुभयो। केही मानिसहरूले उहाँलाई घृणा गरे र उहाँलाई मारे, तर तीन दिन पछि उहाँ फेरि जीवित हुनुभयो र स्वर्गमा उहाँका पिताकहाँ फर्कनुभयो। यो पर्चाले येशूको जीवन र पीडाको सङ्क्षिप्त विवरण साथै हाम्रा टुक्रिएका हृदयहरूलाई निको पार्ने उहाँको प्रतिज्ञा प्रस्तुत गर्दछ।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publication

उपलब्ध भाषाहरूको सङ्ख्या

12 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

“अर्को पनि छोरी!” त्यो मानिस वाक्क भयो। ऊ र उसकी श्रीमतीका पहिले नै दुई जना छोरीहरू थिए। “हामीलाई छोरा आवश्यक छ, अर्की छोरी होइन!” उसले आफ्नो काकाको छोराकहाँ सानो नानी चइलइलाई पठायो। तर तिनीहरूको घरमा चइलइको जीवन डरलाग्दो सपनाजस्तै थियो। उनलाई पाल्ने आमा-बुबाले चिच्याउँदै भने, “तिमी स्कूलमा सामेल हुन पनि अति नै मूर्खको कुरा हो।” त्यसको सट्टा तिनीहरूले उनलाई दासीजस्तै काम गर्न लगाए। निरन्तर रूपमा अत्याचार र दुर्व्यवहारको पीडामा चइलइले लाज र रीसको बादलमुनि कष्ट सहिन्। यस्तो देखिन्थ्यो कि उनलाई माया गर्ने कोही पनि थिएन।

के तपाईंले चइलइको जस्तो कहानीहरू सुन्नुभएको छ? शायद तपाईंलाई दुर्व्यवहार गरिएको छ र पीडाद्वारा तपाईं व्याकुल हुनुहुन्छ होला।

जब पीडा सहन नसक्ने हुन्छ, हामी उम्कने प्रयास गर्छौं, तर त्यसो गर्दा हामी आफैलाई र अरूहरूलाई पनि प्रायः झन् धेरै हानि पुऱ्याउँछौं। कहिलेकाहीँ हामी यो पनि सोच्न सक्छौं कि विगतमा भएको हाम्रो केही खराब कुराको कारण अहिले पीडा सहनुपरिरहेको छ। तर त्यस्तो सोचमा केही सान्त्वना छैन। त्यसले झन् बढी नैराश्ता र डर मात्र थप्छ। के हाम्रो पीडा र दुर्भाग्य अन्त हुने केही आशा छ?

चइलइजस्तो लाखौँ-लाख मानिसहरूले येशूको साँचो सान्त्वना र प्रेममा आशा भेट्टाएका छन्। 

येशू को हुनुहुन्छ?

प्राचीन शिक्षक येशू एक अति गरिब परिवारमा जन्मनुभयो। उहाँ जन्मनुभएको छोटो समयमै एक हिंस्रक राजादेखि उहाँको परिवार भागे र मिश्रदेशमा शरणार्थीहरूझैँ बसे। जब त्यो दुष्ट राजा मरे, तब उनीहरू इस्राएलमा फर्के र नासरत भन्ने कुख्यात नगरमा बसे। एउटा महान् शिक्षकको लागि यो भयानक सुरुवातजस्तै देखिन्छ। 

येशू भन्ने नामको अर्थचाहिँ “परमेश्वरले बचाउनुहुन्छ” हो। येशूको जन्म हुनुभन्दा सात सय वर्ष अघि नै यो कुराको पूर्ववाणी गरिएको थियो कि एक उद्धारकर्ता यस संसारमा आउनुहुनेथियो र तिनीहरूजस्तै दुःख भोग्नुहुनेथियो, तिनीहरूलाई नै बचाउनको लागि उहाँ आउनुभयो। विलाप गर्नेहरूलाई सहायता गर्नु र पीडा र मृत्युको अन्त गर्नु नै उहाँको जीवनको कार्य हुनेथियो। 

येशूको साँचो मित्रता

येशू कसरी पीडितहरूको नजिक आउनुभयो भन्ने विषयमा इसाईको पवित्र पुस्तक अर्थात् बाइबलले धेरै कथाहरू बताउँछ।

एक दिन येशूले प्रचार गरिरहनुभएको ठाउँमा एक गम्भीर छालाको रोग लागेको मानिस आयो। उसको शरीर घाउ-खटिराहरूले ढाकिएको थियो र ऊ एकदमै गन्हाएको थियो। ऊ लाज र निराशापनले भरिएको थियो किनकि उसको समयका मानिसहरूले यो विश्वास गर्थे कि उसको रोगचाहिँ उसका गल्तीहरूको सजाय हुनुपर्छ। तर येशू उसको नजिक जानुभयो र उसलाई छुनुभयो। तुरुन्तै ऊ निको भयो! 

अर्को चोटी येशूले भूत लागेका दुई जना मानिसहरू भेट्नुभयो, जो चिहानहरूको बीचमा बस्थे र आफूलाई ढुङ्गाहरूले काट्दै र चिच्याउँदै हिँड्थे। जब तिनीहरूले येशूलाई देखे, ती दुष्ट आत्माहरूले उहाँलाई टाढा जानू भने। तर येशूले ती दुष्ट आत्माहरूलाई निस्कने हुकुम गर्नुभयो। ती दुष्ट आत्माहरूले उहाँको कुरा माने, र ती दुई जनाले तुरुन्तै आफ्नो मानसिक सन्तुलन फेरि प्राप्त गरे।

पछि येशूले एक आइमाईलाई भेट्नुभयो जो आफ्नो गाउँको समाजबाट बहिष्कृत भएकी थिइन् किनकि उनले पाँच चोटि विवाह गरिसकेकी थिइन्। जब येशूले नम्रसाथ उनीसित कुरा गर्नुभयो, तब उनी अचम्मित भइन्। उनी यति धेरै खुशी भइन् कि उनले सबैलाई महान् गुरुलाई भेट्टाउन ल्याइन् जसले उनलाई आशा दिनुभएको थियो। 

दुःख भोग्नुहुने मित्र

तपाईं सोच्नुहुन्छ होला कि यस्तो शक्तिशाली चङ्गाइकर्ता र दयालु गुरुलाई सबैले माया गर्थे। अनि उहाँलाई साँच्चै नै धेरैले माया गर्थे। तर धर्मगुरुहरू येशूको लोकप्रियता देखेर ईर्ष्यालु भए र उहाँलाई नाश गर्ने षड्‌यन्त्र रचे।

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई झूटा आरोप लगाइनेछ र मारिनेछ। उहाँले मानिसहरूको पीडामा सहभागी हुने र तिनीहरूको हृदय परिवर्तन गर्ने परमेश्वरको योजना थियो भनी बताउनुभयो। उहाँले पूर्ववाणी गर्नुभयो कि उहाँ तेस्रो दिनमा फेरि जीवित हुनुहुनेथियो। तर उहाँका चेलाहरूले यो स्वीकार गर्न सकेनन् कि तिनीहरूको प्रिय गुरुले यति धेरै पीडा भोग्नुहुनेथियो; तिनीहरू उहाँको रक्षा गर्न द‌ृढ थिए। 

दुःखको कुरा, येशूले भन्नुभएको जस्तै त्यो भयो। मध्य रातमा एक चेलाले उहाँलाई पक्रने भीडलाई मद्दत गर्दै केही पैसाको लोभले येशूलाई धोका दियो। अरू चेलाहरू डरले भागे। झूटा साक्षीहरूले येशूलाई सरकार हटाउने योजना बनाएको आरोप लगाए। येशू दोषी ठहराइनुभयो, क्रूरतापूर्वक पिटिनुभयो, र काठको क्रूसमा टाँगिनुभयो, जहाँ उहाँ भयानक पीडामा मर्नुभयो। 

हाम्रो पीडामा आशा

येशूको शरीरलाई चिहानमा राख्दा उहाँकी आमा र अनुयायीहरू रोए। सिपाहीहरूले चिहानलाई बन्द गरी मोहर लगाए र बाहिर पहरेदारहरू राखे। तर तेस्रो दिनमा, ठूलो भूकम्पले चिहान खोल्यो, र येशू फेरि जीवित भई उठ्नुभयो। 

जब येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो, तिनीहरूले आफ्नो आँखालाई विश्वास गर्न सकेनन्! उहाँलाई तिनीहरूको धेरै खाँचो परेको समयमा तिनीहरू भागेका कुरामा उहाँले तिनीहरूलाई क्षमा दिनुभयो। आखिरमा दुःख र मृत्युको अन्त्य गर्ने आफ्नो योजना तिनीहरूलाई देखाउँदै उहाँले बाइबलबाट सिकाउन समय व्यतित गर्नुभयो। उहाँले तिनीहरूलाई उहाँको पुनरागमनको लागि तयार हुन सबैलाई बताउने आज्ञा दिनुभयो जब उहाँले आफ्नो उद्धारको कार्य सिध्याउनुहुनेछ। त्यसपछि येशू स्वर्गमा फर्कनुभयो। 

एक मित्र जो मेरो पीडामा सहभागी हुनुहुन्छ

चइलइ एक यस्ता केटी थिइन् जो कसैले पनि नचाहँदा-नचाहँदै पनि हुर्केकी थिइन्, अन्तमा युद्धको समयमा उनी भागेकी शरणार्थीको शिविरमा काम गर्ने दयालु मानिसहरूद्वारा येशूको बारेमा सिकिन्। उनले बाइबलका कथाहरू सुनिन् र दुःख र मृत्युको अन्त्य गर्ने परमेश्वरको योजनाबारे सिकिन्। चइलइलाई थाहा थियो कि परमेश्वरले उनलाई उनको लाज र पीडाबाट बच्न मद्दत गर्न सक्नुहुन्थ्यो, त्यसैले उनले उहाँलाई आफ्नो हृदय निको पार्न आग्रह गरिन्। परमेश्वरले उनको घृणा र तीतोपनालाई क्षमा र करुणामा बदल्नुभयो। आज उनले मानिसहरूलाई कसरी परमेश्वरले उनलाई शुद्ध बनाउनुभयो र उनलाई कसरी छोरी भनी बोलाउनुहुन्छ भनेर बताउँछिन्। 

तपाईंको बिषयमा चाहिँ के छ त? के तपाईं पनि येशूलाई भेट्न चाहनुहुन्छ? तपाईं यसरी परमेश्वरसँग कुरा गर्न सक्नुहुन्छ: 

प्रिय परमेश्वर, मैले भोगेको पीडा बुझ्नुभएकोमा धन्यवाद (यहाँ तपाईंका कठिनाइहरू व्याख्या गर्नुहोस्)। हामीलाई दुःखबाट बचाउन येशू पठाउनुभएकोमा धन्यवाद। कृपया मेरो हृदयलाई निको पार्नुहोस् र मलाई शान्ति र क्षमा गर्ने आत्मा दिनुहोस्। आमेन।

यदि तपाईं येशूको बारेमा र उहाँले हामीलाई दु:खको समयमा कसरी मद्दत गर्न सक्नुहुन्छ भनी अझै जान्न चाहनुहुन्छ भने, कृपया यस कागजको पछाडीको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोस्।


Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover