के येशूले सहायता गर्न सक्‍नुहुन्छ?

के येशूले सहायता गर्न सक्‍नुहुन्छ?

सारांश

हामी सबैले हाम्रो जीवनमा यस्ता समस्याहरू सामना गर्छौं जुन हामी एकलै समाधान गर्न सक्दैनौं। कहिलेकाहीँ हामी सोच्छौं कि हाम्रो पीडा कसैले देख्दैन, तर सृष्टिकर्ता परमेश्‍वरलाई त्यसको विषयमा पूर्ण रूपले थाहा छ। दुःखबाट सदाको लागि उम्कन हामीलाई मद्दत गर्ने योजनाका साथ उहाँले आफ्ना पुत्र येशूलाई पठाउनुभयो। यी तीन वटा कथाहरूले वास्तविक समस्याहरू भएका वास्तविक मानिसहरूको विषयमा वर्णन गर्दछन्, जो मद्दतको लागि येशूकहाँ फर्के। त्यही समयमा तिनीहरूमध्ये कसैलाई पनि येशूको बारेमा त्यति थाहा थिएन, तर उहाँले तिनीहरूलाई मद्दत गर्नुभएपछि तिनीहरूले उहाँलाई अझ राम्रोसँग चिन्‍न चाहन्थे। यस पर्चाले हामीलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउँछ ताकि हामीले येशूलाई हाम्रा समस्याहरूको बारेमा भन्‍न सकौं। उहाँले हामीलाई पनि मद्दत गर्नुहुनेछ!

डाउनलोड

प्रिय मित्र, मलाई थाहा छैन तपाईं आफ्नो जीवनमा के सामना गर्दैहुनुहुन्छ, तर हामी सबै जनाले यस्ता समस्याहरू सामना गर्छौं जसको समाधान गर्न हामी शक्तिहीन हुन्छौं।

बिरामीपन, मनका दुखाइहरू, एक्लोपन, लतहरू, गरिबीपन, डर, लाज जस्ता जस्तोसुकै समस्याको तपाईंले सामना गरिरहनुभए तापनि त्यहाँ कोही एक जना हुनुहुन्छ जसले तपाईंलाई सहायता गर्न सक्नुहुन्छ। उहाँको नाउँ येशू ख्रीष्ट हो। धेरै जना आफ्नो खाँचोको समयमा उहाँकहाँ फर्केका छन् र सहायता पाएका छन्।

यहाँ एसियामा भएका तीन जना मानिसहरूको बारेमा निम्नानुसार सत्य कहानीहरू दिइएका छन् जसलाई येशूले सहायता गर्नुभएको थियो।

श्रीलङ्कामा भएकी एक जवान आमा

जया सानो रक्त प्रयोगशालामा काम गर्थिन्। उनी आफू र आफ्नो छोराको जिविकोपार्जनको लागि आफूसँग काम भएकोमा खुशी थिइन् किनकि उनको श्रीमान्‌ले उनलाई छोडेको थियो। उनी एक बौद्ध धर्म मान्ने व्यक्ति भए तापनि जया इसाई मालिक्नी एनाको लागि काम गर्न खुसी थिइन्। उनीहरू चाँडै नै राम्रो साथीहरू बने।

एक दिन काम गरिरहेको बेलामा जयाले अचानक तीखो दुखाइको महसुस गरिन्। जब उनले आफ्नो पाखुरामा तीन ठाउँमा लामो गरी काटेको घाउ र रगत देखिन्, तब उनी डरले चिच्याइन्। जयाले त्यो कोठामा दुष्ट आत्माहरूको उपस्थिति महसुस गर्न सक्थिन्।

उनी कराइरहेकी सुनेर एना दौडिँदै आइन्। जयाले के भएको थियो भनी बताउँदा एनाले जयाको पहेँलो अनुहारमा डर देखिन्। एनाले जवाफ दिइन्, “जया, मेरो परमेश्वरसँग यी दुष्ट आत्माहरूलाई निस्कने आज्ञा दिने शक्ति छ। आउनुहोस्, हामी अहिले प्रार्थना गरौं।” जब एनाले प्रार्थना गरिन्, जयाले आफूमा शान्तिको बाढको महसुस गरिन्। ती आत्माहरू गइसकेका थिए।

जयाले भन्छिन्, “म अचम्मित भएँ कि कति छिटो त्यो प्रार्थनाले काम गऱ्यो, र अब म मेरो मालिकनीले प्रार्थना गर्नुभएको येशूको बारेमा अझै धेरै जान्न चाहन्छु। अवश्य, उहाँले सुन्नुहुन्छ र प्रार्थनाको उत्तर दिनुहुन्छ!”

बैंककमा (थाइल्याण्डको राजधानी) एक व्यवसायी महिला

सुचीन बैंकककी एक सफल व्यवसायी महिला थिइन् जसलाई उनको कम्पनीमा चाँडै नै बढुवा गरिँदैथियो। तर सबै कुरा ठीक थिएन। उनी र उनको प्रेमी भर्खरै छुटेका थिए जुन प्रेमीसँग उनले विवाह गर्न सोचेकी थिइन्। अहिले उनी एक्लै र टुटेको हृदय भएकी थिइन्।

हप्ताहरू बिते र संसार अँध्यारो भएको महसुस भयो। सुचीनले याद गर्न थालिन् कि समाचारले लगातार डरलाग्दा घटनाहरूको बारेमा वर्णन गरिरहेको थियो। सङ्गीतका शब्दहरू र फिल्महरू पनि जीवनका विपत्तिहरूमा केन्द्रित भए। उनले अनुमान गरिन्, यी विपत्तीहरूको पछाडि पक्कै पनि बुद्धिमानी व्यक्तिको हात छ। तर संसारमा रहेको राम्रो कुराको बारेमा के छ? त्यसको पछाडि पनि कुनै व्यक्तिको हात थियो कि? उनलाई थाहा थिएन।

एक रात सुचीन आफ्नो कोठामा कोही आएको थाहा पाएर ब्युँझिन्। सुरुमा उनले सोचिन् कि उनी सपना देखिरहेकी थिइन्, तर उनले फेरि हेरिन् र आफ्नो खाटको खुट्टा नजिक कोही उभिरहनुभएको देखिन्। आश्चर्यको कुरा त यो थियो कि उनी डराएकी थिइनन्। उनले त्यो दयालु अनुहारमा हेरिन् र थाहा पाइन् कि त्यो व्यक्ति राम्रो हुनुहुन्छ। ढुक्क भएर उनले आफ्ना आँखा बन्द गरिन् र सुतिन्।

भोलिपल्ट सुचीनले आफ्नो रातको पाहुनाको बारेमा सोचिन् र आफूले देखेको व्यक्ति येशू नै हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भइन्। उनले महसुस गरिन् कि उहाँले उनको निराशापन जान्नुभयो र उनलाई सहायता गर्न आउनुभएको थियो। उहाँको बारेमा अझै कहाँ अध्ययन गर्ने भन्ने कुरामा लालायित हुँदै इसाई मण्डली जानुपर्छ भनी उनलाई प्रबल महसुस भयो। जब उनले त्यहाँ बाइबल अध्ययन गरिन्, उनले येशूको बारेमा र कसरी उहाँलाई खोज्ने भन्ने विषयमा सिकिन्। सुचीनलाई थाहा थियो कि उनी अब कहिल्यै एक्लो हुनुपर्दैन।

मलेसियामा भएका एक निराश बुबा

आफ्नो कारको सिटमा चेङ्ग असजिलो हुँदै मडारिदैथिए जहाँ तिनले सुतेर केही अन्तिम रातहरू बिताएका थिए। बरु तिनी अस्पतालमा आफ्नो छोराको छेउमा बस्न चाहन्थे, तर सघन हेरचाह एकाई (आई सी यु)मा एक जना मात्र कुरुवालाई सारा रात बस्न अनुमति दिन्थ्यो।

जीवनलाई जोखिममा पार्ने मुटुको रोग किन तिनको जवान छोरालाई भयो? ऊ मऱ्यो भने के हुन्छ? तिनको एउटै मात्र छोराविनाको जीवनको बारेमा तिनी सोच्न सक्दैनथे! चेङ्गको अनुहारमा आँसुका धाराहरू बहिरहेका थिए। तिनले आफूलाई एकदमै निःसहायता भएको महसुस गरे। पिता-पुर्खाहरूलाई गरेका प्रार्थनाहरू र मन्दिरहरूको भ्रमणले कुनै उत्तरहरू ल्याएको थिएन। अब शल्य चिकित्सकहरूले तिनको छोराको मुटुको रोगलाई शल्यक्रियाद्वारा पनि निको पार्न सकिँदैन भनी भने।

तिनको छेउमा रहेको सिटमा हेर्दा चेङ्गको आँखा केही दिन अघि एक जना इसाईले तिनलाई दिएको एउटा सानो पर्चामा अड्कियो। केही नसोची चेङ्गले बत्ती बाले र पढ्न सुरु गरे। त्यो सानो पर्चाले परमेश्वरको विषयमा कुरा गरेको थियो जसले यस संसारको सृष्टि गर्नुभयो—एक जना जसले हामीलाई प्रेम गर्नुहुन्छ र हामी हाम्रा आवश्यकताहरू उहाँकहाँ लैजाऊन् भनी तीव्र इच्छा गर्नुहुन्छ।

चेङ्ग आफूले पढेको विषयमा सोचे। तिनी असहाय थिए। के यो परमेश्वरले सहायता गर्न सक्नुहुन्थ्यो? “परमेश्वर, यदि तपाईं साँच्चै त्यहाँ हुनुहुन्छ भने, म तपाईंलाई केवल एउटै कुरा गर्न अनुरोध गर्दछु। कृपया मेरो छोरालाई निको पारिदिनुहोस्! यदि तपाईंले निको पारिदिनुभयो भने, तपाईं मेरो परमेश्वर हुनुहुनेछ, र म तपाईंलाई पछ्याउनेछु।” 

भोलिपल्ट बिहान चेङ्ग आफ्नो छोराको अस्पतालको वार्डमा प्रवेश गरे। डाक्टर र नर्सहरू तिनको छोराको ओछ्यान वरिपरि व्यस्त भइरहेका थिए। तिनीहरू मुस्कुराउँदै र उत्साहित हुँदै चार्टहरू हेर्दैथिए। त्यो केटा निको भएको थियो!

अब तपाईंको पालो छ

के तपाईं काम वा स्कूलमा सङ्घर्ष गर्दैहुनुहुन्छ? तपाईंको नजिक भएका मानिसहरूसँग के तपाईंका मनमुटावहरू हुँदैछन्? के तपाईं बिरामी र त्रसित हुनुहुन्छ? के तपाईं एक्लो महसुस गर्नुहुन्छ? के तपाईं आफ्नो जीवनमा भएको लत वा कमजोरीपनमाथि शक्तिहीन हुनुहुन्छ?

येशूले तपाईंलाई सहायता गर्न सक्नुहुन्छ!

उहाँ भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८)।

तपाईंले येशू को हुनुहुन्छ भन्ने पूर्ण रूपमा बुझ्नुभएको छैन होला। उहाँ वास्तविक हुनुहुन्छ कि हुनुहुन्न भनी तपाईं विचार गर्नुहुन्छ होला। तर तपाईं ढुक्क हुन सक्नुहुन्छ कि यदि तपाईं साँच्चै सत्यता जान्न चाहनुहुन्छ र साँच्चै सहायता चाहनुहुन्छ भने, येशूले तपाईंलाई सहायता गर्नुहुनेछ।

केवल प्रार्थना गर्नुहोस्, “येशू, म विश्वास गर्न चाहन्छु कि तपाईं वास्तविक हुनुहुन्छ र मलाई सहायता गर्न सक्नुहुन्छ। कृपया मलाई देखाउनुहोस् कि तपाईं वास्तविक हुनुहुन्छ र मलाई ............मा
सहायता गर्नुहोस्। मलाई तपाईंजस्तो परमेश्वर अहिले नै चाहिएको छ।”

येशूले तपाईंलाई अवश्य सहायता गर्नुहुनेछ। अनि जब उहाँले सहायता गर्नुहुन्छ, उहाँको बारेमा अरू कसैलाई भन्नुहोस्!

यदि तपाईं येशूको बारेमा अझै जान्न चाहनुहुन्छ भने, कृपया हामीलाई यस कागजको पछाडिको जानकारीमा सम्पर्क गर्नुहोस्।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover