
एउटा अझै असल भविष्य
सारांश
यस संसारमा नराम्रा घटनाहरू हुन्छन्। मानिसहरू दुःख भोग्छन् र मर्छन्। तर भविष्यको लागि आशा छ! इसाई पवित्र-शास्त्र, बाइबलले भन्दछ कि येशूलाई माया गर्ने मानिसहरूलाई अझ राम्रो ठाउँमा लैजानको निम्ति येशू आउँदैहुनुहुन्छ। त्यहाँ, कोही पनि बिरामी हुनेछैन वा कसैले पीडा भोग्नेछैन। सबै जना सदाको लागि शान्ति र एकतामा जिउनेछन्। परमेश्वरले योजना गर्नुभएको सुन्दर भविष्यमा तपाईं कसरी सहभागी हुन सक्नुहुन्छ भन्ने कुरा यस पर्चाले हामीलाई बताउँछ!
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publication
उपलब्ध भाषाहरूको सङ्ख्या
12 भाषाहरू
पृष्ठ सङ्ख्या
6
डिपार्टमेन्टभित्र हिँड्दै गर्दा लीले आफ्ना दुई साना छोरीहरूलाई बलियोसँग पक्रे। “होशियार रहनू,” भनी तिनले संरक्षणको भावनासाथ मन्द आवाजमा भने। “बुबाको नजिक रहनू।” तिनलाई रिँगटा लाग्यो। तिनको यसरी बजार जाने बानी थिएन। अनि पक्कै पनि तिनलाई आफ्ना छोरीहरूको हेरचाह एक्लै गर्ने बानी थिएन।
लीले केही खानेकुराहरू किनेर आफ्ना छोरीहरूसँग बसमा चढे र तिनलाई रुन मन लाग्यो। तिनले आफ्नी श्रीमतीलाई सम्झे जसको केही हप्ताअघि मृत्यु भइसकेको थियो। तिनलाई उनको हँसिलो अनुहारको याद आयो। उनले बनाएको खाना र कसरी छोरीहरूलाई हेरचाह गर्थिन् भन्ने कुरा तिनलाई याद आयो। उनीहरूको एकसाथ बितेको जीवन यसरी दुःखपूर्ण तरिकाले अन्त्य हुन्छ भनेर तिनले कहिल्यै पनि सोचेका थिएनन्।
तिनले किन यति धेरै कष्ट भोग्नुपरेको? आफ्ना नानीहरूले किन दुःख भोग्नुपर्ने? के भविष्यको लागि आशा गर्न सकिने सबैभन्दा असल कुरा यही हो?
भविष्यको लागि आशा
समय बित्दै जाँदा धर्मले तिनलाई अझै राम्रो भविष्य पाउन मद्दत गर्छ होला कि भनी लीले सोच्न थाले। तर तिनले महसुस गरे कि प्रत्येक धर्मले आफ्नै समाधानहरू प्रदान गर्छ र धर्महरूमध्ये सबै राम्रा हुँदैनन्। तिनको क्षति बुझ्नको लागि तिनले जवाफहरू कहाँ पाउन सक्नेथिए त? के तिनले आफ्नी श्रीमतीसँग पुनर्मिलन हुन सक्ने कुनै आशा थिएन र? के यो अन्त नहुने पीडा कहिल्यै समाधान हुनेथियो त?
केही दर्शनशास्त्रीय प्रणालीहरूले यस्तो सिकाउँदछन् कि यो संसार निरन्तर सुधार हुनेछ, तर लीले यसको विपरित भएको स्पष्ट रूपमा देख्न सक्थे। अन्य धर्महरूले एक प्रकारको उम्कने योजना प्रस्तुत गर्दछन्। तिनीहरूले यस संसारलाई सदाको लागि दशा लागेको देख्दछन् र परमेश्वले असल मानिसको मृत्यु हुँदा तिनीहरूलाई उद्धार गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा लैजानुहुनेछ भनी सिकाउँदछन्। कतिले निर्वाण अर्थात् एक अवर्णनीय स्थायी अवस्थाको विचारमा ध्यान केन्द्रित गर्दछन्। तर यो व्यक्तिको लागि कत्ति पनि विशेष नहुने सुनिन्छ। लीले कुन विचारचाहिँ सबभन्दा असल थियो भन्ने कुरा सोचिरहे।
इसाई समाधान
लीले एक इसाई छिमेकीसँग कुराकानी गर्न थाले। तिनले चाँडै नै सिके कि बाइबल भनिने इसाई पवित्र लेखहरूले सिकाउँदछन् कि यो संसार समस्याको स्थितिमा छ किनभने हामीले हाम्रो सृष्टिकर्ता विरुद्ध विद्रोह गरेका छौं (उत्पत्ति ६:५)। तर सृष्टिकर्ताले यस पृथ्वीलाई यसको मौलिक पूर्णतामा पुनः सृष्टि गर्ने प्रतिज्ञा गर्नुभएको छ (प्रकाश २१:१)।
तिनीहरू जसले आफ्ना स्वार्थी मनसायहरूलाई निको पार्न परमेश्वरलाई अनुमति दिएका छन्, तिनीहरूलाई नयाँ पृथ्वीमा स्वागत गरिनेछ।बाइबलले भन्दछ कि सृष्टिकर्ता परमेश्वरले “तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनभने पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:४)। दुःख सदाको लागि हटेर जानेछ!
“तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५-६)। शारीरिक खोटहरू हटेर जानेछन्!
प्राकृतिक संसार पनि पुनर्स्थापित हुनेछ। “ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ” (यशैया ६५:२५)।
यो कसरी हुनेछ? बाइबलले भन्दछ कि परमेश्वर नसोचेको समयमा आउनुहुनेछ (मत्ती २४:३६-४२), तर कसैको लागि पनि यो थाहा नपाईकन पार हुनेछैन, किनभने उहाँ “बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ।” (प्रकाश १:७)। त्यहाँ बिजुली चम्कनेछ, मेघ गर्जनेछ, र पृथ्वी हल्लिनेछ (मत्ती २४:२७; प्रकाश १६:१७-२१)।
तुरहीको ठूलो आवाज बज्नेछ। सृष्टिकर्ताको प्रतिज्ञामा विश्वास गरेर मरेकाहरू जीवनमा पुनः स्थापित हुनेछन्। जीवित विश्वासीहरूको साथमा तिनीहरू “प्रभुलाई आकाशमा भेट्न ... बादलमा” उठाइलगिनेछन् (१ थेसलोनिकी ४:१७)। कस्तो खुसीको मिलन!
परमेश्वर सबै जना नयाँ पृथ्वीमा बसेका चाहनुहुन्छ, तापनि अन्तमा दुष्टहरूको विनाश हुनेछ (२ पत्रुस ३:९-११)। त्यसपछि परमेश्वरले संसारलाई पुनः सृष्टि गर्नुहुनेछ र हामीलाई हाम्रो नयाँ घरमा स्वागत गर्नुहुनेछ जहाँ प्रदूषण, पीडा र मृत्युबाट मुक्त हुनेछ।
पुनः सृष्टि हुने संसारको कल्पना गर्नुहोस्!
लीले बाइबल पढ्दा, यसले वर्णन गरेको दृश्यहरू कल्पना गरे। शीतल घाँसले ढाकेको जमिनमा बौरिउठाइएको आफ्नी श्रीमतीसँग हिँडिरहेको तिनले परिकल्पना गरे। तिनीहरू एउटा खोलाको छेउमा वनभोज खाएका हुनेछन् जबकि तिनीहरूका छोरीहरू शाही बाघसँग खेलेका हुनेछन्।
हप्तामा एक पटक तिनीहरू राजधानीमा जाने ठूलो संख्याका मानिसहरूसाथ समावेश हुनेछन् जहाँ सृष्टिकर्ता सिंहासनमा विराजमान हुनुहुन्छ (यशैया ६६:२२-२३)। तिनीहरू सुनका सडकहरूमा हिँड्नेछन्, आनन्द र सृष्टिकर्ताप्रति भएको प्रेमले तिनीहरूको हृदय भरिएको हुनेछन्। तिनीहरूले एकसाथ परमेश्वरको प्रशंसा गाउनेछन्।
न कोही वृद्ध वा बिरामी हुनेछन् न ता कोही मर्नेछन्। आनन्द र प्रेम पूर्ण हुनेछन्!
यति राम्रो कुरा पनि सत्य हुन्छ र?
लीले इसाई धर्मशास्त्रमा के अध्ययन गरिरहेका थिए सो कुरालाई मन पराए। कहिलेकाहीँ, त्यो यति राम्रो जस्तो देखिन्थ्यो कि त्यो सत्य हुन नसक्ला कि? जस्तो लाग्थ्यो, र तिनले गर्न सक्ने कुराचाहिँ धन्यवादको प्रार्थना उच्चारण गर्नु मात्र थियो। एक्लो बुबा भएर जिन्दगी चलाउन सजिलो थिएन, तर अब तिनमा शान्ति र भविष्यको लागि आशा थियो!
सबै मानवजातिका लागि पीडा हुनु सामान्य हो। रोकेर समस्याहरूमा ध्यान लगाउन सजिलो छ। तर त्यहाँ शुभ खबर छ! बाइबल एउटा यस्तो पुस्तक हो जसले हाम्रो संसारको उत्पत्तिको बारेमा मात्र वर्णन गर्दैन तर त्यसको अन्तिम गन्तव्यको बारेमा पनि वर्णन गर्दछ—एउटा सुन्दर गन्तव्य जहाँ तपाईं अनि म समावेश हुनेछौं। अनि यसमा हाम्रा सबै प्रिय जनहरू पनि समावेश हुन सक्दछन्!
तपाईंको बारेमा के छ?
के तपाईं परमेश्वरसँग तपाईंको लागि सुन्दर भविष्य छ भन्ने सम्भावनाको बारेमा सिक्न चाहनुहुन्छ? उहाँले तपाईंको पीडालाई कसरी निको पार्न सक्नुहुन्छ भन्ने कुराको बारेमा के तपाईं जान्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तल दिइएका शब्दरूमा प्रार्थना गर्नुहोस्:
सृष्टिकर्ता परमेश्वर, म विश्वास गर्न चाहन्छु कि तपाईंले यस संसारलाई यसको मौलिक असलतामा पुनर्स्थापना गर्न सक्नुहुन्छ, तर यो यति असल देखिन्छ कि यो सत्य हुन नसक्ला जस्तै लाग्छ। तपाईं वास्तविक हुनुहुन्छ कि हुनुहुन्न र मेरो लागि तपाईंका योजनाहरू के-के छन् भनी थाहा पाउन मलाई मद्दत गर्नुहोस्।
यदि तपाईं थप सिक्न चाहनुहुन्छ भने, यस कागजको पछाडि रहेको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोला।
Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission.
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!

तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications