परमेश्‍वरका विशेष मानिसहरू

परमेश्‍वरका विशेष मानिसहरू

सारांश

भविष्यको युगमा उहाँले कसरी एक पूर्ण संसार फेरि सृष्टि गर्नुहुनेछ भन्‍ने कुरा प्रभु येशू ख्रीष्टले हामीलाई बताउनुभयो। उहाँका विशेष जनहरू त्यहाँ सदासर्वदा बस्नेछन्। यी विशेष व्यक्तिहरू को हुन्? बाइबलले तिनीहरूलाई “बाँकी सन्तान” भन्दछ। यस पर्चाले बाँकी सन्तानको सङ्क्षिप्त विवरण दिन्छ र तिनीहरू सबै जना कुन घटनाको लागि उत्सुकसाथ पर्खिरहेका छन् भन्‍ने कुरा हामीलाई बताउँछ।

डाउनलोड

एक जना मानिसको बारेमा एउटा यस्तो कथा छ जो लामो यात्रामा जानु अघि आफ्ना नोकरहरूलाई जम्मा गरे। एउटा नोकरलाई तिनले पैसाको ठूलो झोला दिए, दोस्रो नोकरलाई ठीक्कको साइजको पैसाको झोला दिए, र अन्तिम नोकरलाई पैसाको अति सानो झोला दिए—प्रत्येकलाई आ-आफ्नो क्षमताअनुसार दिइयो। तिनले तिनीहरूलाई भने कि तिनी नभएको बेलामा तिनको सम्पत्तिको हेरचाह तिनीहरूले गर्नुपर्छ। त्यसपछि तिनी गए।

पहिलो नोकरले आफ्नो पैसा लियो र व्यापार सुरु गऱ्यो। त्यसै गरी दोस्रो नोकरले पनि आफ्नो पैसालाई व्यापारमा लगायो। तिनीहरूले धेरै मेहनत गरे, र चाँडै नै दुवैले तिनीहरूलाई सुम्पेको रकमलाई दोब्बर बनाए। 

तर अति सानो पैसाको झोला पाउने तेस्रो नोकरचाहिँ फरक थियो। उसले सुरक्षित राख्न जमिनमा खाल्डो खन्यो र पैसालाई त्यहीँ गाड्‌यो—त्यसपछि उसको मालिक टाढा भएको बेला उसले आराम गऱ्यो, अल्छी भई धेरै वर्षहरू रमाइलोसाथ बितायो।

अन्तमा, त्यो मालिक फर्किए। ती पहिला दुई नोकरहरूले तिनलाई देखाए कि कसरी तिनीहरूले मेहनत गरे र तिनको धनलाई दोब्बर बनाए। तिनले भने, “स्याबास! तिमीहरू असल र विश्वासी नोकरहरू हौ। तिमीहरू सानो कुराहरूमा आफैलाई विश्वासी प्रमाणित गरेका छौ, अनि अब म तिमीहरूलाई ठूला कुराहरूको जिम्मा दिनेछु।” त्यसपछि तिनले तिनीहरूलाई इनाम दिए।

तेस्रो नोकर अगाडि अनुहार खुम्च्याउँदै र लज्जित हुँदै आयो। उसले भन्यो, “मालिक, मलाई थाहा थियो कि हजुरले नरोप्नुुभएको जग्गाबाट कटनी गर्नुहुने र बिउ नछर्नुभएको ठाउँबाट बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ। मलाई डर लाग्यो, यसैले गएर तपाईंको पैसा मैले माटोमुनी लुकाएँ। हेर्नुहोस्, यो तपाईंको पैसा लिनुहोस्—यसमा केही पनि चुकेको छैन।” तर त्यो मालिक क्रोधित भए किनकि तिनलाई थाहा थियो कि तिनी टाढा हुँदा त्यो अल्छे नोकरले केही पनि गरेको थिएन। तिनले त्यसको पैसा लिए, विश्वासिलो भई काम गर्ने नोकरलाई त्यो दिए, र अविश्वासिलो नोकरलाई चाहिँ सजायको ठाउँमा पठाए।

एक पूर्ण राज्य

महान् गुरु र कथाकार प्रभु येशू ख्रीष्टद्वारा यो कथा भनिएको थियो। उहाँको किताब अर्थात् बाइबलले हामीलाई बताउँछ कि उहाँ एक दिन बादलमा फर्किनुहुनेछ र आफ्नो विशेष जनहरूलाई इनाम दिनुहुनेछ, उहाँका दासहरू जो विश्वासिलो हुँदैआएका छन्। तर उहाँको आगमनको लागि तयार नहुनेहरू धेरै निराश हुनेछन्।

परमेश्वरका विश्वासीलो दासहरूका लागि यो अति राम्रो इनाम के हो? प्रभु येशू ख्रीष्टले हामीलाई एक ठाउँमा लाने प्रतिज्ञा गर्नुभएको छ जसलाई “परमेश्वरको राज्य” भनिन्छ। यो राज्य त्यही ठाउँ हो जहाँ सृष्टिकर्ता परमेश्वर वास गर्नुहुन्छ। यो यस्तो पूर्ण ठाउँ हो जहाँ सबै जना पूर्ण रूपमा खुशी छन् र परमेश्वर मानिसहरूसँग बस्नुहुन्छ। यस राज्यका मानिसहरू परमेश्वरको कानुन र एक अर्कासँग मिलापमा रहन्छन्। त्यहाँ दुःख, पीडा वा मृत्यु छैन। यो अति राम्रो राज्य कहिल्यै अन्त हुनेछैन! तर विश्वासीलो र आज्ञाकारीहरू मात्र यो ठाउँमा जान पाउनेछन्। तिनीहरू जो परमेश्वरलाई इन्कार गर्छन् वा उहाँको सेवा गर्न अल्छि र हेलचेक्य्राइँ गर्छन्, तिनीहरू उहाँको राज्यमा प्रवेश गर्नेछैनन्।

परमेश्वरको राज्यमा प्रवेश गर्ने अधिकार कमाउन हाम्रो निम्ति असम्भव छ। धैरै जीवनकालहरूका असल कार्यहरूभन्दा पनि यो धेरै महँगो हुनेथियो। बरु सृष्टिकर्ता परमेश्वरले हाम्रो लागि त्यो प्रवेश अधिकार सित्तैँको उपहार स्वरूप प्रदान गर्नुहुन्छ। जो कोही पनि परमेश्वरको राज्यमा जान सक्छन्, तिनीहरूको जाति, सामाजिक स्तर अथवा विगतको इतिहास जे भए पनि फरक पर्दैन। तर हामी राम्रो कामहरूद्वारा यो राज्यमा प्रवेश गर्ने हाम्रो अधिकार कमाउन नसके तापनि, हाम्रा कामहरू भने महत्त्वपूर्ण नै छन्। हामी यस्तो मिलाप भएको, पूर्ण ठाउँमा खुशी हुने प्रकारका व्यक्तिहरू हौं कि होइनौं भनी हेर्नलाई परमेश्वरले हाम्रा कामहरू हेर्नुहुन्छ। 

बाइबलले एक विशेष समूहका मानिसहरूको विषयमा वर्णन गर्छ जो ती पहिला दुई नोकरहरू जस्तै छन्—तिनीहरूले गर्ने सबै कुरामा तिनीहरू विश्वासयोग्य छन्। यी विशेष मानिसहरूलाई “बाँकी सन्तान” भनिन्छ, जो विश्वको हरेक देशका यस्ता मानिसहरू हुन् जसले परमेश्वरका आज्ञाहरू पालन गर्छन् र येशू ख्रीष्टको दोस्रो आगमनको लागि उत्सुक भई प्रतीक्षा गर्छन्।

बाँकी सन्तानमा संलग्न

एक दिन परमेश्वरको राज्यमा प्रवेश गर्ने विश्वासयोग्य दासहरूको यो समूह अर्थात् परमेश्वरका विशेष मानिसहरूसँग हामी कसरी सहभागी हुन सक्छाै? परमेश्वरप्रति विश्वासयोग्य हुन प्रभु येशूले हामीलाई सिकाउनुभयो, तर उहाँले कठिन नियमहरूको सुची बनाउनुभएन। उहाँले भन्नुभयो कि हामीले परमेश्वरलाई आफ्नो सारा हृदयले, प्राणले र सारा समझले प्रेम गर्नुपर्छ, र हामीले आफ्ना छिमेकीहरूलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ (बाइबल हेर्नुहोस्, मत्ती २२:३७-४०)। शायद यो साधारण लाग्न सक्छ, तर हामीहरूमध्ये धेरैजसोको लागि अप्रिय मानिसहरूलाई प्रेम गर्नु सहज छैन। तर पनि प्रभु येशूले भन्नुभयो कि हामीले आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्नुपर्छ (मत्ती ५:४४ हेर्नुहोस्)। यो यसको कारणले मात्र सम्भव छ कि परमेश्वरले अचम्म तरिकाले हाम्रा हृदयहरू परिवर्तन गर्नुहुन्छ र हामीलाई अलौकिक प्रेम र भलाइ दिनुहुन्छ। परमेश्वरप्रतिको प्रेम र अरूप्रतिको प्रेमको जीवनचाहिँ हामी प्रभु येशूका विश्वासयोग्य सेवकहरू हौं भन्ने प्रमाण हो।

परमेवरको राज्यमा अनन्त जीवन।

पहिला दुई नोकरहरूजस्तै परमेश्वरका साँचा अनुयायीहरू धैर्यवान् र विश्वासयोग्य हुनुपर्छ। जब हाम्रो मालिक येशू फर्कनुहुन्छ, हाम्रो बफादारिता र विश्वासयोग्यताको इनाम भनेको अनन्तको लागि परमेश्वरको राज्यमा प्रवेश गर्नु हो। त्यो राज्य भनेको “परमेश्वरका आज्ञाहरू र येशूको विश्वास पालन गर्नेहरू”-को लागि हो (बाइबल, प्रकाश १४:१२ - KJV)।

यदि तपाईं परमेश्वरको राज्यमा सधैँभरि रहनेहरूसँग सामेल हुन चाहनुहुन्छ भने, तपाईंले यसरी प्रार्थनामा पुकारा गर्न सक्नुहुन्छ:

प्रिय परमेश्वर, तपाईंको राज्यमा म तपाईंसँग हुन चाहन्छु। मलाई सिकाउनुहोस् र तपाईं नआउनुभएसम्म विश्वासयोग्य रहन मलाई सहायता गर्नुहोस्। मलाई अझ उत्तम ठाउँमा लैजाने तपाईंको प्रतिज्ञाको लागि धन्यवाद! आमेन।

यदि तपाईं परमेश्वरको राज्यको बारेमा अझै सिक्न चाहनुहुन्छ भने, कृपया यो कागजको पछाडि दिएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोस्।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission. Other scripture taken from the Holy Bible translated from Received Text aligned with King James Version. Copyright © 2017 by Trinitarian Bible Society, London, England and Jeewan Marga Prakashan, Kalimpong, Darjeeling, West Bengal, India.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover